
प्रतीकात्मक तस्बिर ।
सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ आहालेका ४६ वर्षीय युगबहादुर स्याङ्तानको गोली लागेर मृत्यु भएको पुष्टि भएको छ । रुखबाट लडेर घाइते भएका भनिएका युगबहादुरको उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो ।
बुधबार दिउँसो जङ्गलमा घाँस काट्ने क्रममा रुखबाट लडी गम्भीर घाइते भएको भनिएका युगबहादुरको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।
केएमसी अस्पताल सिनामङ्गल काठमाडौंमा उपचार गराइरहेका युगबहादुरको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार योगबहादुरको तिघ्रामा गोलीको छर्रा भेटिएको थियो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न घ्याङलेख गाउँपालिका–४ का २५ वर्षीय बलबहादुर मोक्तान र सोही ठेगाना भएका ४१ वर्षीय लेखबहादुर गोलेलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अन्य व्यक्तिकोसमेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।