
काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका विद्यालयमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव र सिकेका ज्ञान बाँड्नका लागि ‘शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ ।
कामपाले आज र भोलि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ‘काठमाडौँ शैक्षिक मेला २०८१’ आयोजना गर्ने प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र सङ्घसंस्थासँग सहकार्य हुने बताउँदै विद्यालय शिक्षाको नवप्रवर्तन स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको उनले बताए ।
कामपाको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले शैक्षिकसत्रको अन्त्यमा सैद्धान्तिक विषयको लिखित परीक्षा भएजस्तै व्यावहारिक र प्रयोगात्मक कक्षाहरूको नतिजा हेर्न थालिएको जानकारी दिए ।
विद्यालय शिक्षालाई वैज्ञानिक र व्यावहारिक तथा विद्यार्थीको रूचि र अभिभावकहरूको चाहनाअनुरूप सञ्चालन गर्न सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको छ ।
निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीका अनुसार मेलामा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरूको क्षमता विकासलगायत कार्यक्रमको विम्ब मेलामा समेटिने छन् ।