
काठमाडौँ, फागुन १७ :
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर गएको ६ दशमलव एक म्याग्निच्युडको भूकम्पमा आत्तिएर भाग्ने क्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
कोदारीस्थित प्रहरी चौकीको भित्ता सामान्य चर्किएको छ । यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको खबर प्राप्त भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
हालसम्म प्राप्त विवरणमा मानवीय र ठूलो भौतिक क्षति भएको बारे कुनै जानकारी नभएको बताउँदै प्रजिअ थापाले मातहतका सबै कार्यालयले सूचना संकलन गरिरहेको बताए ।
शुक्रबार बिहान दुई बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प जाँदा काठमाडौँ उपत्यका र आसपासका जिल्लामा ठुलो धक्का महसुस भएको थियो ।