बागलुङ, फागुन १७ :

आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । 

सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला- पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो ।

निसीखोला गाउँपालिका ६, पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन हुने सवारीसाधन ठप्प भएको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए । अहिले पनि निरन्तर हिमपात भइरहेको उनले बताए । 

बिहानैदेखि वर्षा भएको र अहिले हिमपात भइरहेकाले तत्कालै सडक खुलाउन सकिने अवस्था नरहेको उनको भनाइ छ । हिमपात रोकिएर घाम लाग्यो भने मेसिन प्रयोग गरेर सडक खुलाउने तयारीमा रहेको पनि उनले बताए ।

बिहान काठमाडौँदेखि गएका रात्रि बस सञ्चालन भए पनि अहिले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षको माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ । बिहानैदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको ढोरपाटन नगरपालिका ९ का चकबहादुर अदैले जानकारी दिए ।