काठमाडौं, फागुन १७ :

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको बताएका छन् ।

एमाले पेसागत विशेष जिल्ला कमिटीले राजधानीमा शुक्रबार आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले विभिन्न बहानामा देशमा उत्पन्न हुने समस्याका कारण राजनीतिक दलले सम्पूर्ण ध्यान विकास निर्माणमा लगाउन नपाएको जिकिर गरे ।

‘२०७४ सालमा राजनीतिक दलले काम गर्ने वातावरण तयार भए पनि त्यतिबेलाको सरकारले राम्रोसँग काम गर्न पाएन । कमजोर धरातलमा गरिएको एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा र प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई पनि काम गर्न समस्या भयो,’ उनले भने ।

‘आगामी निर्वाचनमा एक्लाएक्लै लड्ने हो’

उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन दुई ठुला राजनीतिक दल मिलेर काम गर्न थालेको बताए । ‘मुलुकलाई अगाडि बढाउने कोसिस भइरहेको छ । अब हाम्रो समय अलमलमा बित्दैन । हाल देखिएका समस्या समाधानका लागि काम भइरहेको छ । नयाँ सरकार बनेपछि आर्थिक सुधारको प्रक्रियामा केही प्रगति भएको छ,’ पोखरेलले भने, ‘लगानीको वातावरण तयार भएको छ । ब्याजदर घटेको छ । पुँजीगत खर्च वृद्धि भएको छ । पहिलेभन्दा कर उठ्न थालेको छ । मोटामोटी आर्थिक सूचक सुधारोन्मुख छ ।’

उनले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा विनागठबन्धन एक्लाएक्लै चुनाव लड्ने बताए । ‘गठबन्धन गर्दा साना पार्टी संसद्‌मा रहिरहने र तिनले अस्थिरता सिर्जना गरिरहने अवस्था कायमै रहन्छ । त्यसको अन्त्य हुनुपर्छ भन्ने मान्यताका साथ हामी एक्लाएक्लै चुनावमा जान्छौँ,’ महासचिव पोखरेलले भने ।

कार्यक्रममा पेसागत महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालले मुलुकमा अस्थिरताबाट अगाडि बढाउनुको विकल्प नभएको धारणा राखे ।