काठमाडौं, फागुन १७ :

काठमाडौंको सोह्रखुट्टेमा जी-रामायण होटेल सञ्चालनमा आएको छ । पाहुनालाई शाही स्वागत (रोयल थिम) प्रदान गर्ने लक्ष्यसहित सञ्चालनमा आएको होटेलमा हाल ४० कोठा पूर्ण सञ्चालनमा आइसकेका छन् । ‘रोयालिटी विथ लक्जरी’ भन्ने नारासहित खुलेको होटेल पूर्ण सञ्चालनपश्चात ५५ कोठा हुनेछन् ।

सञ्चालनमा आएका ४० वटै कोठाहरु फरक शैलीमा निर्माण भएको होटेलका अध्यक्ष डा. उमेश गुप्ताले जानकारी दिए । दुई दशकभन्दा बढी समय ट्राभल क्षेत्रमा अनुभव हासिल गरेका गुप्ताले संसारका विभिन्न मुलुकको भ्रमणपछि नेपालमा मौलिक र विलासी सुविधासहित होटेल खोल्ने लक्ष्यअनुसार जी रामायण सञ्चालनमा ल्याइएको बताए ।

नेपालका अन्य होटेलमा आएका पर्यटकलाई पनि पृथक स्वाद र सम्मानका लागि यस होटेलमा ल्याएर अनुभव गराउने लक्ष्य राखिएको छ । होटेलको कोठाअनुसार प्रतिरात १० हजार रुपैयाँदेखि ४० हजारसम्म शुल्क निर्धारण गरिएको छ ।

लन्डन स्विट, रोयल राजस्थान स्विट र टर्किस स्विटका रुमहरु रहेको यो होटेल नेपालका लागि पृथक अनुभव हुने बताइएको छ ।

साततले होटेलमा अन्तर्राष्ट्रियस्तरको ज्याकुजी, केरला थेरापी स्पा, जिम, साउना, स्वीमिङ पुललगायत सुविधा छन् । होटेलमा ३ सय जनाका लागि बैंक्वेट सुविधा छन् । रेस्टुरेन्टलगायत अन्य सबै सुविधा रहेको होटेलमा अध्यक्ष गुप्तासहित साजन शाक्य, नाफिसा खातुनको लगानी छ ।

होटेलमा पार्किङलगायत सुविधा पर्याप्त छ । होटेल काठमाडौं दरबार स्क्वायरबाट मात्र १.९ किमि टाढा छ । गार्डेन अफ ड्रिम्ससम्म ५ मिनेटमै पुग्न सकिन्छ । होटेलका कोठाहरूमा बिडेट, छुट्टै ट्वाइलेट र साबरजस्ता सुविधा छन् । हेयर ड्रायर र तौलियाहरू पनि उपलब्ध गराइएका छन् ।

होटेलमा अतिथिहरूले काठमाडौंको इतिहासलाई सजिलै अनुभूति गर्न सक्छन् । किनभने चार पर्खालले घेरिएको नारायणहिटी दरबार संग्रहालय होटेलबाट करिब २० मिनेटको दूरीमा अवस्थित छ । ठमेलसम्म केवल ९ मिनेट पैदलयात्रा गरेर पुग्न सकिने यो होटेल सोह्रखुट्टे बस स्टपको केही कदमनजिकै छ ।