मधेस प्रदेशबाहेक देशका अधिकांश भूभागमा शुक्रबार वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार शुक्रबार पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ । उहाँले यो रेकर्डलाई भारी वर्षाका रुपमा लिइने गरिएको जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशमा वर्षा भएको छ । ती प्रदेशका धेरै ठाउँमा हल्ला र मध्यम वर्षा भएको र केही ठाउँमा भारी वर्षा भएको हो ।
बागमती प्रदेशका केही जिल्लाहरुमा पनि वर्षा भएको छ । सिन्धुपाल्चोकका क्षेत्रमा अहिले पानी परिरहेको उहाँले बताउनुभयो । कोशीका थोरै भूभागमा पानी परेको छ । आज राति पनि ठाउँठाउँमा वर्षा हुने र भोलि पनि मौसम बदली हुने तर सुधार हुँदै जाने पुडासैनीले बताउनुभयो ।
महाशाखाका अनुसार आज रातिका लागि सुदूरपश्चिममा राति पनि वर्षाको सम्भावना छ । गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागमा केही ठाउँमा र कोशीको थोरै ठाउँमा वर्षाको सम्भावना छ ।
मौसमविद् पुडासैनीले भन्नुभयो,“शनिबार आजभन्दा केही कम छ तर बदली चाहीँ छ,शनिबार काठमाडौँमा आजभन्दा केही सुधार मात्रै छ,दिउँसोतिर फाट्टाफुट्ट पानी पर्नसक्छ, मधेशमा बदली मात्रै छ, पर्सि आइतबारदेखि खुल्छ ।”
कुन ठाउँमा कति पानी पर्यो
पछिल्लो २४ घण्टामा कालिकोटको रासकोट मापन केन्द्रमा ६६.२ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरामा ५६, बैतडीमा ५२.६ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो ।
त्यसैगरी मध्यम वर्षा डडेलधुरामा ४६,अछाम ३१,हुम्लाको सिमिकोट ३५.२ मिलिमिटर वर्षा भएको छ । यता गण्डकी प्रदेशको मनाङमा हल्का १२.८,बारपाकमा १२.८, म्याग्दी १६.२ वर्षा भएको छ । यता बागमतीको मेलम्चीमा मध्यम वर्षा ३१.४ मिलिमिटर वर्षा भएको छ ।
काठमाडौँको कीर्तिपुरमा १.४,बुढानीलकण्ठमा १.२,सुन्दरीलजमा १.४ र सबैभन्दा बढी ढाप ड्याममा ४.६ मिलिमिटर वर्षा भएको छ ।