काठमाडौं, फागुन १८ :

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको सतुंगललगायतका क्षेत्रमा आज (शनिबार) बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडरअन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुंगल चोकलगायत क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिलगायत कार्यका लागि बिजुली कटौती हुने जनाएको हो ।

शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म ती स्थानमा बिजुली काटिने भएकाले ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । तोकिएको कार्य समयअगावै पूरा भए निर्धारित अवधिअगावै बिजुली प्रवाह हुने पनि सूचनामा उल्लेख छ ।

यस्तै, मूलपानी सबस्टेसन निर्माण आयोजनाले पनि आज बेलुकीसम्म बानेश्वर वितरण केन्द्र महाराजगन्ज वितरण केन्द्र, रत्नपार्क, जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रलगायत क्षेत्रमा बिजुली प्रवाह रोकिने जनाएको छ ।

निर्माणाधीन सबस्टेसनमा प्राविधिक कामका लागि ती वितरण केन्द्रहरुमा बिजुली आप्रवाह आज (शनिबार) साँझसम्म रोकिने प्राधिकरणको सूचनामा उल्लेख छ ।