तुलसीपुर, फागुन १८ :

दाङको तुलसीपुर बजारमा विद्युत्‌का खाली तार थिए । ‘हाइटेन्सन्’ लाइन नै खाली हुँदा ‘करेन्ट’ लाग्ने जोखिम थियो । त्यो जोखिम अब हट्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले ‘हाइटेन्सन’ लाइनका खाली तार हटाएर नयाँ तार राखेको छ । साथै तारमा ‘कभर’ पनि राखेको छ ।

यसअघि ३० स्क्वायर मिटर तार रहेकामा ती तार हटाएर एकसय स्क्वायर मिटर तार राखिएको छ । तार चुँडिने, क्षमता नधान्नेजस्ता समस्या पनि अब अन्त्य हुने वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशलीले जनाए । उनका अनुसार तुलसीपुर बजार क्षेत्रलाई सुरक्षित बनाउन यस्तो कार्य गरिएको हो ।

बजार क्षेत्रभित्रको ४५ किलोमिटर तारलाई त्यसरी कभर राख्नुका साथै एक सय स्क्वायर फिट बनाइएको हो । एक करोड रुपैयाँमा ती तार फेरिएको उनको भनाइ छ । तुलसीपुरमा विद्युत्‌का ५२ हजार दुईसय ९० ग्राहक छन् ।

रगैँचामा भवन बन्दै दाङको शान्तिनगर गाउँपालिका ५, रगैँचामा विद्युत्‌को भवन निर्माण प्रक्रिया अघि बढेको छ । जहाँ ‘नो लाइट’ सेवाको कार्यालय छ । यसअघि त्यहाँ भाडाबाट उक्त कार्यालय सञ्चालनमा थियो ।

शान्तिनगर, दङ्गीशरण गाउँपालिका लगायतलाई सेवा दिन त्यहाँ एक कर्मचारीसहित सेवा सुरु गरिएको हो । प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख गोशलीका अनुसार केही दिनअघि मात्रै टेन्डर आह्वान भएको उनले बताए । भवन निर्माणपछि सेवा प्रवाहमा थप सहजता आउने उनको भनाइ छ ।