लुम्बिनी, फागुन १८ :

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारिता र आम सञ्चारमाध्यमको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई राप्ती उपत्यका (देउखुरी)मा शनिबार सम्बोधन गर्दै उनले प्रदेश सरकारले स्थापनाकालदेखि नै पत्रकारिता सशक्तीकरणलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पारे ।

उनले पत्रकारिता क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक कानुन संशोधन गर्ने तथा पत्रकार हितलाई संरक्षण गर्ने प्रतिबद्धता जनाए । ‘प्रदेश सरकारले राम्रा कामको थालनी गरेको छ,उनले भने ‘पत्रकारिता कल्याणकारी कोष स्थापना गरेर उदाहरणीय कार्य अघि बढाएका छौँ, ‘पत्रकारिता क्षेत्रलाई निरन्तर प्रोत्साहन दिँदै आएका छौं ।’

मुख्यमन्त्री आचार्यले प्रेस स्वतन्त्रताका नाममा सामाजिक सञ्जालमा फैलिरहेको अराजक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे ।