नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पार्टीको महाधिवेशनलाई विधानअनुसार तोकिएको समयमै सम्पन्न गर्नुपर्ने बताएका छन्।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले २०८२ भित्र महाधिवेशन सम्पन्न गरी २०८४ को आमनिर्वाचनका लागि एकताबद्ध रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए।
नेता कोइरालाले पार्टीभित्र महाधिवेशनअघि गरिनुपर्ने विभिन्न प्रक्रियामा ढिलाइ भइरहेकोप्रति असन्तोष व्यक्त गरे। विशेषगरी, क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको काम समयमा नभए पार्टीको सांगठनिक संरचना कमजोर हुने उनको भनाइ छ।'महाधिवेशन पार्टीको जीवनरेखा हो। विधानले तोकेको समयमै सम्पन्न गर्न ढिलाइ गर्नुहुँदैन,' उनले भने।
उनले महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीलाई सशक्त बनाउने अवसर पनि भएको बताए। पार्टीभित्र देखिएका आन्तरिक समस्याहरू समाधान गर्दै आगामी महाधिवेशनलाई सफल बनाउनुपर्नेमा उनले विशेष जोड दिए। उनका अनुसार, यदि महाधिवेशन समयमा नभए, पार्टीको संगठनमा असन्तुष्टि बढ्ने र कार्यकर्तामा निराशा छाउने खतरा रहन्छ। त्यसैले, उनले पार्टी नेतृत्वलाई समयमै तयारी गरी विधानसम्मत ढंगले महाधिवेशन सम्पन्न गर्न आग्रह गरे।
सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा कोइरालाले वर्तमान सरकारका काम कारबाहीबारे समेत टिप्पणी गरे। उनले कांग्रेसले आफ्ना नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्नुपर्छ भन्दै, अबको प्राथमिकता पार्टीलाई सुदृढ बनाउनु रहेको बताए।
महाधिवेशनका लागि आवश्यक कार्यतालिका निर्धारण गर्न, आन्तरिक तयारीलाई तिव्रता दिन र सांगठनिक एकतालाई बलियो बनाउन अब ढिलाइ गर्न नहुने उनको धारणा थियो।