फागुन १९ :

आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (आइतबार) भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।

भारत र न्युजिल्यान्डको यो खेल आइतबार दिउँसो २ बजेर ४५ मिनेटमा यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

समूह ‘ए’ का दुवै अपराजित टिमले दुईदुई खेल खेल्दा चार चार अंक जोडेको छन् । दुवै टिमको सेमिफाइनल यात्रा तय भइसकेको भए पनि यो खेलले समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लगाउने छ।

समूह चरणमा यसअघि भारतले बङ्गलादेश र पाकिस्तानलाई पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ। पहिलो खेलमा बङ्गलादेशमाथि २१ बल बाँकी हुँदा ६ विकेटले विजयी भएको भारत दोस्रो खेलमा पाकिस्तानविरुद्ध ४५ बल बाँकी हुँदा ६ विकेटले नै विजयी भएको थियो।

न्युजिल्यान्डले भने पहिलो खेलमा पाकिस्तानलाई ६० रनले हरायो भने दोस्रो खेलमा बंगलादेशलाई २३ बल बाँकी हुँदा ५ विकेटले पराजित गरेको थियो। 

समूह ‘बी’ बाटअंक जोड्दै दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया चार अंक जोड्दै उपविजेता बनेर सेमिफाइनल प्रवेश गरिसकेका छन् । आज हुने यो खेलले सेमिफाइनल समीकरण पूरा हुनेछ । भारत र न्युजिल्यान्डको नतिजाले कुन देशले सेमिफाइनलमा कसलाई प्रतिद्वन्द्वी पाउँछन् भन्ने टुंगो लाग्नेछ।

पाकिस्तानको आयोजनामा भएको यो प्रतियोगिताको समूहचरणबाटै आयोजकसहित बङ्गलादेशी, अफगानिस्तान र इङ्ग्ल्यान्ड बाहिरिसकेका छन्।

भारतले पाकिस्तान जान अस्वीकार गरेपछि यो प्रतियोगिता हाइब्रिड मोडलमा पाकिस्तान र यूएईमा भइरहेको छ ।