
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमनमा जाँदा सर्लाहीको नवलपुर बजारमा सञ्चालित अवैध अस्पतालका सञ्चालकहरु फरार भएका छन्। शनिबार राति ९ बजेपछि मुख्यमन्त्री सिंहले रौतहटको चन्द्रनिगाहपुर र सर्लाहीको हरिवनका विभिन्न अस्पतालको अनुगमन गरेपछि नवलपुर बजारमा अवैध स्वास्थ्य संस्थाहरूका सञ्चालक भागेका हुन्।
मुख्यमन्त्री सिंहको अस्पताल अनुगमनको सूचना पाएका अवैध अस्पतालका सञ्चालकहरूले तुरुन्तै अस्पतालका सर्टर बन्द गरेर फरार भएका थिए।
मुख्यमन्त्री सिंहले मापदण्डविपरीत सञ्चालन गरेको कारण भानु अन्जली अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिए। नवलपुर बजारमा हाल एक दर्जन बढी अवैध अस्पताल र क्लिनिक सञ्चालनमा छन् ।
मुख्यमन्त्री सिंहले हरिवन बजारका अन्य अस्पतालहरूको अनुगमन गर्दा मापदण्ड पुरा नगरेका अस्पतालहरूलाई तुरुन्त बन्द गर्न निर्देशन दिएका छन्। दयन्ती अस्पताल, सर्लाही जीवन हेल्थकेयर, लीलावती अस्पताल र सरस्वती अस्पताललाई बन्द गर्न निर्देशन दिइसकिएको छ।
मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा सुधारको अभियानअन्तर्गत विभिन्न जिल्लामा अनुगमन जारी राखे भएका छन् । जसले गर्दा नागरिकको स्वास्थ्यमा हुने गम्भीर असरको रोकथाम गर्न सकिने अपेक्षा गरिएको छ।