काठमाडौं, फागुन १९ :

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार युवा वर्गको चौतर्फी विकासमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  सैनिक मञ्च टुँडिखेलमा आज आयोजित राष्ट्रिय सेवा दल (एनसीसी) को सिसं. १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्री ओलीले 'जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी' उक्तिलाई आत्मसाथ गर्दै युवा वर्गलाई राष्ट्रिय ध्वजाको सम्मान गर्न र अनुशासनको साथ राष्ट्रप्रति जिम्मेवारी निर्वाह गर्न पनिआह्वान गरे। 

 ‘तपाईंहरूका अभिभावक, प्राध्यापक, नातेदार र समाजले तपाईंबाट अपेक्षाहरू राख्छ, उनले भने, त्यसैले उत्कृष्ट समाज निर्माणका लागि तपाईहरूले नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनमा आधारित रहि आफ्नो कर्तव्य बुझ्न र राष्ट्रप्रतिको जिम्मेवारीमा खडा हुनु आवश्यक छ।’

प्रधानमन्त्री ओलीले युवा सशक्तिकरणमा सरकारको उच्च प्राथमिकता रहेको पनि बताए। उनले युवा वर्गलाई स्वच्छ प्रतिस्पर्धा र राष्ट्रप्रति समर्पणको आधारमा मुलुकको विकासमा सक्रिय भाग लिन आग्रह गरे।

कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, प्रधानसेनापति अशोकराज सिग्देल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोल लगायतका प्रमुख सुरक्षा निकायका अधिकारीहरू सहभागी थिए।भारत, माल्दिभ्स र भूटानका एनसीसी तथा स्काउट प्रतिनिधिहरूले पनि यस तालिम कार्यक्रममा भाग लिए।

राष्ट्रिय सेवा दल, जसको उद्देश्य युवाहरुलाई अनुशासित र राष्ट्रसेवामा समर्पित नागरिकको रुपमा प्रशिक्षित गर्नु हो, २०२२ सालमा स्थापना भएको हो। यस संस्थाले अहिले सात हजार सात सय चार छात्र/छात्रालाई तालिम दिएको छ र आगामी वर्षमा ११ हजार पाँच सय ५० पुर्याउने लक्ष्य राखिएको छ। अबसम्म ८२ हजार एक सय ८४ विद्यार्थीले यस सेवा दलबाट दीक्षा प्राप्त गरेका छन्।