काठमाडौं, फागुन १९ :

काठमाडौंको नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले गरेको प्रदर्शनमा झडप भएको छ ।

झडपका क्रममा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। अहिले उनलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ। यस्तै  १२ प्रदर्शनकारी पनि घाइते भएका छन्।

प्रदर्शनकारी प्रहरीलाई झुक्याएर निषेधित क्षेत्र तोडेर बानेश्वरतिर गएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थिथो । प्रदर्शनकारीले भाटाले हानेर प्रहरीलाई घाइते बनाएको बताइएको छ । सुरुआतमा उनीहरूले बिजुलीबजारबाट र्‍यालीसहित माइतीघर आउने भनेका थिए । यसअघि शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दै आएका गुठी किसानहरुको आजको प्रदर्शनमा भने झडप भएको हो । 

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले लामो समयदेखि आफ्ना मागहरू पूरा गर्न सरकारसँग ध्यानाकर्षण गराउँदै काठमाडौंमा प्रदर्शन गर्दै आएको छ। उनीहरुले आफ्नो मागहरूको सम्बन्धमा सरकारसँग बारम्बार छलफलका लागि आग्रह गर्दै आए पनि ठोस रुपमा वार्ता स छैन ।