पाल्पा, फागुन १९ :

ऐतिहासिक एवं पर्यटकीय स्थल पाल्पा दरबार परिसरको मूल ढोकाको निर्माण कार्य रोकिएको छ ।   बजेटको कारण देखाउँदै तानसेनको शीतलपाटीमा रहेको ऐतिहासिक मूलढोकाको निर्माण कार्य रोकिएको हो ।

पुरातत्व विभागले मूल ढोका जीर्ण भएको भन्दै दुई वर्षअघि निर्माणको काम सुरु गरेको थियो । विभागले जीर्ण मूल ढोकाको पुनर्निर्माण गर्न एनपिएस कन्ट्रक्सन भक्तपुरसँग ८१ लाख ९५ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

उक्त सम्झौतामा उल्लेख भएअनुसार ठेकेदारले अरु काम सकेर मूल ढोकाको निर्माणको काम बाँकी राखेको छ । हाल मूल ढोका निर्माण गर्न बजेट नहुँदा काम अगाडि बढ्न नसकेको विभागको भनाइ छ ।  

ठेकेदारले हालसम्म ४६ लाख रुपियाँ मात्र भुक्तानी पाएको र अझै ३५ लाख भुक्तानी पाउन बाँकी रहेको पुरातत्व विभागका सम्पदा शाखाका प्रमुख रमेशराज पौडेलले जानकारी दिए । विभागसँग बजेट नहुँदा मूल ढोकाको निर्माण कार्य अवरुद्ध भएको उनले बताए । 

दुई वर्षअघिको काम सकिएको र पूरै काम गर्न वजेट नहुँदा समस्या भएको उनले बताए। अब अर्को वर्ष मूल ढोकाको सबै काम गर्ने गरी बजेटको व्यवस्था गरिने शाखा प्रमुख पौडेलले बताए ।

मूल ढोकाको जग उठाएर ढोकाको दुई भागको पर्खाल उठाइसकिएको छ । अब छाना छाउन, ढोका राख्न र शृङ्गारको काम बाँकी रहेको पुरातत्व विभागले जनाएको छ ।