
नेकपा एमालेले आफ्नो जनवर्गीय संगठनमा केन्द्रीय पदाधिकारीको संख्या घटाएर ९ जनामा सीमित गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा आइतबार बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो । यसअघि जनवर्गीय संगठनमा १७ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था थियो ।
अब पार्टीको जनवर्गीय संगठनमा अध्यक्ष एकजना, उपाध्यक्षमा एकजना महिलासहित दुईजना, महासचिव एकजना, उपमहासचिव एकजना र प्रचार, विदेश मामिला र संगठन हेर्ने गरी तीन सचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारी रहनेछन् । महासचिव शंकर पोखरेलका अनुसार संगठनमा अब केन्द्रीय कमिटी र केन्द्रीय सचिवालय मात्रै रहनेछन् ।
साथै बैठकमा स्थानीय विकास विभागको सचिवमा नवराज गेलाल र प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय भएको छ । पार्टीका नीति, कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्न राष्ट्रिय भेला र प्रदेशस्तरीय संयुक्त भेला आयोजना गर्ने निर्णय पनि बैठकले महासचिव पोखरेलले बताए ।