काठमाडौँ, फागुन २० :

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तर्गत आज देशभरका क्याम्पसमा संघ/संगठन दर्ता हुँदै छन् ।

आगामी ५ चैतमा हुने मतदानका लागि आज अपराह्न तीन बजेसम्म संघ/ संगठन दर्ताको समय ताेकिएकाे छ ।

त्यसपछि २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

२६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

२८ फागुनमा उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने समय तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित हुने छ ।

दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ ।

चैत ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म स्ववियु नेतृत्व चयनका लागि मतदान हुने कार्यतालिका छ ।