काठमाडौं, फागुन २० :

बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले युक्रेनमा शान्ति स्थापना गर्न र रुसी आक्रमणबाट रक्षा गर्न चार बुँदे प्रस्ताव गरेका छन्।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसहित १८ नेताहरूको बैठकपछि यो घोषणा गरिएको हो। बेलायतको प्रस्ताबमा युरोपियन देशहरू सहमत भएका छन्।

‘आज हामी इतिहासको एउटा महत्त्वपूर्ण मोडमा छौं,’स्टार्मरले बैठक पछि बताएका छन्।  यस योजना अन्तर्गत, बेलायत, फ्रान्स र अन्य देशहरूले ‘इच्छुक राष्ट्रहरूको समूह’ गठन गर्ने र अमेरिकी सहयोग खोज्ने छन्।

यस्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले  अत्यधिक समर्थन महसुस भएको जनाउँदै यो बैठकले युरोपेली एकताको उच्चतम स्तर देखेको बताएका छन् ।यो बैठकको दुई दिन अघि युक्रेनी नेता र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बहस भएको थियो।

युक्रेनलाई थप सैन्य सहायताका रूपमा १.६ अर्ब पाउण्ड र ५ हजार थप हवाई रक्षा क्षेप्यास्त्रहरू किन्न अनुदान दिने निर्णय गरिएको छ। साथै युक्रेनसँगको सहकार्यलाई तीव्रता दिने पनि बैठकमा सहमति भएको बीबीसीले जनाएको छ।

यस्ता छन् चार बुँदा:

१‍.युक्रेनलाई सैन्य सहायता निरन्तर उपलब्ध गराउने र रूसमाथि आर्थिक दबाब बढाउने।

२.युक्रेनको सार्वभौमिकता र सुरक्षा सुनिश्चित गर्न प्राथमिकता दिने। 

३. शान्ति वार्तामा युक्रेनको उपस्थितिलाई अनिवार्य बनाउने।

४.शान्ति सम्झौता भए पनि युक्रेनको रक्षा क्षमतालाई अझ सुदृढ गर्दै भविष्यमा कुनै पनि आक्रमण रोक्ने उपाय अपनाउने।

यस योजनाले युरोपमा युद्धको स्थायी शान्ति सुनिश्चित गर्ने र युक्रेनको रक्षा क्षमतालाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।