काठमाडौं ।, फागुन २० :

८० वर्षको उमेरमा चौथो स्टेजको क्यान्सरविरुद्ध सफल उपचारयात्रा समेटिएको पुस्तक ‘कालसँग कुस्ती’ सार्वजनिक गरिएको छ । आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालको एक रिपोर्टलाई उद्धृत गर्दै पुस्तकमा सो दाबी गरिएको छ ।

पुस्तकमा ब्रिटिस सेनामा झन्डै तीन दशक लामो पल्टनयात्रा, ईन्डोनेसिया-मलेसियाको सीमावर्ती घनाजङ्गलमा भएको भिडन्त, अमेरिकामा सम्पन्न सैनिक प्रशिक्षणलगायत अन्य रोचक प्रसंगहरु छन् । कालसँग कुस्ती जीवन वृत्तान्त मात्र होइन ।

पुस्तकमा गुरुङ समुदाय, तत्कालीन नेपाली समाज, लाहुरे संस्कृतिको संघर्ष र गोर्खाज्हरूले सामना गर्नुपरेका विभेदको वेलिविस्तार गरिएको छ। यसका अतिरिक्त पुस्तकमा अवकाशपछि क्याप्टेन गुरुङको समाजसेवा यात्रामा समर्पित रहे, जसमा तमू बौद्ध सेवा समिति स्थापनागायत माओवादी द्वन्द्व पीडित अनाथ बालबालिकाहरुलाई आश्रय र शिक्षा प्रदान तथा रोटरी इन्टरनेशनलमार्फत् सेवा गरे ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्याल, न्यूयोर्क टाइम्सका पत्रकार भद्र शर्मा र समाजशास्त्री डा. दिलबहादुर गुरुङले पुस्तकको समीक्षा गरेका छन् भने गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङको सन्देश समावेश छ ।

विगतमा संयुक्तराष्ट्र संघलगायत अन्य र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आवद्ध संचार विज्ञ चुनबहादुर गुरुङद्वारा लिखित कालसँग कुस्ती, क्याप्टेन गुरुङको ८४औं जन्मदिनका अवसर बागमती प्रदेशका मुख्यमन्त्री माननीय बहादुरसिंह लामा तथा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान अ संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।

बहादुरसिंह लामाले भने, ‘यो पुस्तकमा उहाँको युवावस्थादेखि वृद्धावस्थासम्मको अनुभवहरू समावेश छन् । यसले पाठकहरूलाई गहिरो ज्ञान प्रदान गर्दछ। मलाई विश्वास छ कि यो मेरो लागि पनि प्रेरणाको स्रोत बन्नेछ। म उहाँको दिर्घायु र स्वास्थ्यको कामना गर्दछु ।’सोही अवसरमा क्याप्टेनले अनाथलय, वृद्धाआश्रमलगायत अन्य संघसंस्थाहरुलाई १५ लाख रुपैयाँ दान दिएका छन् ।