
राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य-मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताएका छन् । सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रममा उनले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुण अनिवार्य भएको बताए ।
‘जब कुनै समाजले नैतिकता, अनुशासन र इमानदारीलाई सम्मान गर्छ, त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुत हुन्छ,’ उनले भने । राष्ट्रपति पौडेलले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै, योग शिक्षा, स्वस्थ जीवनशैली र मानवसेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गरे । उनले दुई दशकभन्दा बढी समयदेखि लमजुङमा सक्रिय सर्वोदय सेवाश्रमले योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाहरणीय काम गरेको बताए ।
उनले नेपालको निजामती प्रशासनिक क्षेत्रमा निष्ठा, इमानदारिता र कर्तव्यपरायणताको उदाहरणीय प्रतिमान स्थापित गरे । लमजुङ, दुराडाँडाका दिवंगत नरकान्त अधिकारी तथा न्याय प्रशासनको क्षेत्रमा उच्चतम इमानदारिता, कर्तव्यनिष्ठा र क्षमताको परिचय दिएका सर्वोच्चका पूर्वन्यायाधीश, सुखौरा, तनहुँका दिवंगत भैरवप्रसाद उपाध्यायको सम्मानमा स्थापित यी पुरस्कारहरू योगदानको प्रतीक भएको पौडेलको भनाइ छ ।
उनले नरकान्त योग राष्ट्रिय पुरस्कार प्राप्त गरेका प्रा.डा. विद्यानाथ उपाध्यायले नेपाली समाजमा शिक्षाको प्रवर्धन, योग तथा अध्यात्मको क्षेत्रमा पुर्याएको योगदान भैरव सदाचार राष्ट्रिय पुरस्कार पाउने मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले न्यायप्रतिको निष्ठा एवं नेपालको संक्रमणकालीन समयमा देशलाई स्थायित्व प्रदान गर्न पुर्याएको योगदान प्रशंसनीय रहेको बताए ।