
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको छ ।
सहसचिवमा जीवछ मण्डलको संयोजकत्वमा कार्यसम्पादन रहेको मूल्यांकन समितिले आव ०८०/८१ मा गरेका कार्यसम्पादन मूल्यांकनमा कुलमानलाई शून्य अंक प्रदान गरेको हो ।
कार्यसम्पादन करारबमेजिम घिसिङले प्रगति प्रतिवेदन समयमा नबुझाएकाले शून्य नम्बर दिइएको ऊर्जा मन्त्रालयको दाबी छ ।
घिसिङले भने मन्त्रालयमा पेस गरेको कार्यसम्पादन मूल्यांकनमा ९८.९९ प्रतिशत अंक दाबी गरी कार्यसम्पादन सूचकांक विवरण पेस गरेका थिए । मन्त्रालयले केही दिनअघि सोधको प्रस्टीकरणमा घिसिङले प्राधिकरणले गरेको प्रगति नै आफ्नो मूल्यांकन भएको जवाफ मन्त्रालयमा पठाएका थिए । प्राधिकरणले यो आवको ६ महिनामा मात्रै ११ अर्बभन्दा बढी नाफा कमाएको विवरण प्रस्तुत गरेको छ ।