
फाइल तस्बिर।
नेकपा (एस)का सम्मानीत नेता झलनाथ खनालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन्। धनुषामा प्रेस संगठन नेपालद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एजेन्डाका आधारमा कार्यगत एकता गर्न भने सकिने बताए। चुच्चे नक्साको कार्यान्वयन जस्ता राष्ट्रिय मुद्दामा कार्यगत एकता गर्न सकिने नेता खनालको भनाइ थियो।
‘पार्टी एकीकरण तत्काल सम्भव छैन, तर कार्यगत एकता गर्न सकिन्छ,’उनले भने, ‘राष्ट्रियतामाथि खतरा छ, सबै एकत्रित भएर उभिन सकेका छैनौं। नेपालले बनाएको चुच्चे नक्सा कार्यान्वयन गर्नुपर्छ।’
उनले सरकार संकटको पोको बोकेर हिँडिरहेको आरोप पनि लगाए। सरकाले अहिले जारी गरेका अध्यादेशहरुलाई खनालले संकटको पोकोको संज्ञा दिएका छन् । अहिले अध्यादेश ल्याउनु पर्ने आवश्यकता नरहेको प्रसङ्ग उल्लेख गर्दै सामान्य प्रक्रियाबाट ऐन बनाउने कुरामा कसैको विमति नहुने खनालको भनाइ थियो ।