
प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९, नेवारपानीबाट गाँजा ५ किलो १ सय ग्रामसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका १, सानुभाबर बस्ने २३ वर्षीय इमानसिंह घलान र सोही गाउँपालिका २, सुनासौरा बस्ने २३ वर्षीय रामचन्द्र घलान छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको बा.४ख ७१६५ नम्बरको बसमा यात्रारत उनीहरूलाई उक्त गाँजासहित मंगलबार बिहान पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका १५, चाइना मार्केटबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४० ग्राम १४० मिलिग्रामसहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार अररिया थाना फारबिसगन्ज ७ का २८ वर्षीय अर्जुन मल्लिक, विराटनगर महानगरपालिका १७ बस्ने १९ वर्षीय साईनम गुरुङ र लेटाङ नगरपालिका ३, मोरङका ४० वर्षीय नवीन तामाङ छन् । इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
जुम्लाको चन्दननाथ नगरपालिका ५, जुगार्डबाट ट्रामाडोल ४० ट्याब्लेटसहित २ जनालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका १ बस्ने २० वर्षीय लक्की परियार र २३ वर्षीय प्रवीण परियार छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।