काठमाडौं, फागुन २१ :

सशस्त्र प्रहरीले मंगलबार काठमाडौंको कलंकीबाट चार नेपाली युवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई भारतीयसहित ६ जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले मंगलबार करिब ३४ ग्राम ब्राउन सुगरसहित काठमाडौं महानगरपालिका १४,  कलंकीस्थित पेट्रोल पम्पनजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकामा धादिङ गल्छी गाउँपालिका ८ बस्ने २२ वर्षिय, नीलकण्ठ गाउँपालिका ११ बस्ने २७ वर्षीय, नुवाकोटको लिखु गाउँपालिका ३ बस्ने २७ वर्षीय र काठमाडौं १४, कलंकी बस्ने ३७ वर्षीय गरी ४ पुरुष छन् ।

एपीएफ इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा खटिएको सुरक्षा फौजले उनीहरुले ब्राउन सुगर बेचबिखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

साथै उनीहरुले प्रयोग गरेको प्रदेश ०२-५-प-८४५९ मोटरसाईकल र बा.१५च १७७३ नम्बरको क्रेटा गाडीसमेत नियन्त्रणमा लिएको छ ।

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले २२ केजी गाँजासहित दुई भारतीयलाई नियन्त्रणमा लिएको छ ।

थाई एयरवेजमार्फत नेपाल आएका ४० वर्षीय पुरुष र ३७ वर्षीया महिलाले लगेजभित्र चकलेटको प्याकेट बनाई ल्याएको २२ केजी गाँजासहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसले पुन: जाँच गर्ने क्रममा गाँजासहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित नियकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।