काठमाडौँ, फागुन २१ :

कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको पहिलो बैठक आज सम्पन्न भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको बैठकले विभिन्न चार बुँदे निर्णय गरेको छ ।

बैठकले दशौँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय यही फागुन २५ सुर्खेतमा स्थापना गर्ने, दशौँ राष्ट्रिय खेलकुदको सहआयोजकका रूपमा कर्णाली प्रदेश सरकार रहने व्यवस्था भएकाले सोका लागि अनुरोध गर्ने, दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न पूर्वाधार निर्माण एवं स्तरोन्नति कार्यमा खर्च गर्ने गरी खेलकुद परिषद्अन्तर्गत खर्च नहुने पुँजीगत रकम मध्येबाट कर्णाली प्रदेशलाई बजेट हस्तान्तरणका लागि नेपाल सरकार अर्थ मन्त्रालयमार्फत आवश्यक प्रक्रियाका लागि अनुरोध गर्ने र दशौँ राष्ट्रिय खेलकुद तथा प्रथम राष्ट्रिय पारा खेलकुद सञ्चालन तथा व्यवस्थापनसम्बन्धी (पूर्वतयारी, उद्घाटन एवं खेल सञ्चालन र समापन) कार्ययोजना पेस गर्न कार्यसम्पादन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यस अवसरमा राखेपका सदस्य- सचिव टङ्कलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुदको शीर्षकगत खर्चको विवरणलगायत विषयमा जानकारी गराएका थिए ।

खेलकुदमन्त्री चौधरीले दशौँ राष्ट्रिय खेलकुद अब कुनै हालतमा नसर्ने बताउँदै सम्बन्धित सबैलाई तयारीमा जुट्न आग्रह गरे । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि पनि गौरवको विषय भएकाले यसलाई सफल पार्न प्रदेश सरकारले सरोकार भएकाहरूसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।