काठमाडौँ, भदौ ६ :

सङ्घीय सांसद अन्तर्गत आज चार वटा संसदीय समितिका बैठक बस्दै छन् ।

राज्यव्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ ।

बिहान ११ बजे बस्ने राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः ३० मा बस्दै छ । आजको बैठकमा ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक दिउँसो १ः ३० बजे बस्दै छ । बैठकमा समितिको कार्यविधि र राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी दिउँसो ३ः ४५ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानव अधिकारका विषयमा छलफल हुनेछ ।