काठमाडौं, फागुन २२ :

संघीय संसद् सचिवालयले प्रधानमन्त्री केपी ओलीलाई संसद भवन परिसरमा हिटलर हो ? भनेर प्रश्न सोध्ने दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको छ।

फागुन ४ गते संसद्‌बाट बाहिरिने प्रधानमन्त्रीलाई प्रश्न सोध्दा अमर्यादित शब्द प्रयोग गरेको भन्दै संघीय संसद् सचिवालयले पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई  हिटलर र तानाशाह शब्द प्रयोग गरेर उनीहरुले संसदीय मर्यादा र अनुशासन उल्लघंन गरेको संघीय स‌ंसद् सचिवालयको आरोप छ। संसद्को रिपोर्टिङका लागि उनीहरुले  सचिवालयबाट मिडिया सेण्टर प्रवेश पास लिएका थिए । कारबाहीमा पर्ने ओलीले सुनौलो नेपाल युट्युब च्यानलबाट र श्रेष्ठले युवा मन नेपालबाट संसद प्रवेशको पास लिएका थिए।

यस विषयमा एमाले सांसद सूर्य थापाले पुस ५ गतेको संसद् बैठकमा विशेष समयलिएर संसदको ध्यानाकर्षण गराएका थिए।  उनले संसद्‌मा प्रवेश गर्ने संञ्चारकर्मीले कानुनको पालना नगरेको आरोपसमेत लगाएका थिए।