काठमाडौं, फागुन २२ :

अमेरिकाले नेपाल फर्काइ दिएका आठ नेपाली नागरिकलाई  मानव बेचबिखन अनुसन्धान ब्युरोले थप सोधपुछपछि छाडेको छ । 

अमेरिकाको ‘चार्डट’ विमानबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरुलाई अध्यागमक प्रक्रिया पूरा गरी सोधपुछका लागि प्रहरीको जिम्ममा लगाइएको थियो । आधिकारिक कागजात नभएका अवस्थामा नियन्त्रणमा लिई आठ जना नेपालीलाई अमेरिकाको चार्टड विमानबाट  बुधबार बिहान काठमाडौँ ओरालिएको थियो ।

अर्का एक नेपाली पनि आजै कतार एयरवेजको नियमित उडानबाट डिपोर्ट भएर काठमाडौं आइपुगेको विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले पुष्टि गरे ।  ‘हामीले अध्यागमन प्रक्रिया पूरा गरेर उहाँहरुलाई पठायौं,’ अधिकृत अर्यालले भने, ‘चार्टट विमानबाट आएका आठ जनाका सम्बन्धमा नेपालले अनुसन्धान गरिरहेको छ ।यसअघि अमेरिकाबाट २७ नेपाली डिपोर्ट भएर फर्किइसकेका छन् । 

यसैबीच,डिपोर्ट भएकामध्ये केही ५० लाखदेखि १ करोडसम्म खर्च गरेर अमेरिका पुगेको सोधपुछका क्रममा बताएका छन् ।यस्तै केहीले आफूहरु १२ वटा देशका सीमा पार गरेर अमेरिका पुगेको दुःख पोखेका थिए ।

प्रहरीका अनुसार फर्केका ८ मध्ये रुकुम पूर्वका २ जना, रोल्पाका १ जना, दाङका ३ जना र डोटीका १ जना छन् ।अमेरिका पुगेका उनीहरु मध्ये केही १० महिना र केही ५ महिना मात्र भएको थियो । मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको सोधपुछका  क्रममा उनीहरुले आफूखुशी गएको बताएका थिए । 

जहाज भोलि बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कने विमानस्थलले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट आधिकारिक कागजात नभएका नेपाली घरफर्किरहेका छन् ।