
अधिक तरलता नियन्त्रण कार्य पेचिलो बन्दै गएको छ । राष्ट्र बैंकले अधिक तरलतालाई वाञ्छित सीमाभित्र राख्न पटक-पटक बैंकिङ प्रणालीबाट निक्षेप रकम खिचे पनि तरलता नियन्त्रणका आएको छैन ।
जसले गर्दा गत आइतबार मात्र बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिचेको राष्ट्र बैंकले आज (बुधबार) पुन: ५० अर्ब रुपैयाँ निक्षेप खिच्न लागेको हो । कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिच्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार आज अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत उक्त परिमाणमा रकम तानिनेछ । परिपक्व हुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ-ब्याज भुक्तानी मिति चैत १३ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।
खरिदकर्ताले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोका रुपमा समेत राख्ने सकिनेछ ।