काठमाडौं, फागुन २३ :

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् ।  

पार्टी केन्द्रिय कार्यालय सानेपामा बिहीबार नेपाल भूतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले  नेपाल भूतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए। 

देउवाले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराए । उनले गोरखा भर्तीका समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिबद्धता जनाए । उनले प्रजातन्त्र स्थापना र पुनःस्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकहरुले गरेको योगदान महत्वपूर्ण रहेको बताए ।

‘नेपाल भुतपूर्व सैनिक संघमा साथीहरुको समस्या नभएको होइन, यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ,सभापति देउवाले भने,’‘साथीहरुको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाइनेछ ।’ सभापति देउवाले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए नेपाली कांग्रेस पार्टी बलियो हुने जिकिर गरे । 

नेपाली भुपू सैनिकमा पेन्सनको जुन विभेद छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ । लोकतन्त्रमा मात्र सबै वर्गको अधिकार सुनिश्चित हुन्छ ।’