
काठमाडौँको साँखुमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
बिहान करिब ३ः४० बजेको समयमा काठमाडौँको शङ्खरापुर नगरपालिका- ६ साँखु सलम्बुटारस्थित साँखु- ब्रह्मखेल सडकखण्डमा बा२क ६५८० नम्बरको ट्रिपर अनियन्त्रित भई युवराज थापाले सञ्चालन गरेको द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा ठक्कर दिन पुगेको थियो ।
सो टहरोमा ६१ जना बस्दै आएका छन् । ट्रिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए । सुतिरहेको अवस्थामा टिपरको ठक्करबाट ठेगाना नखुलेका २१ वर्षीय आकाश, २१ वर्षीय सुमन र ४५ वर्षीय हरिजन घाइते भएका थिए । उनीहरूको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रभाग साँखुका प्रहरी सहायक हवल्दार नरेन्द्र सिपालीले जानकारी दिए ।
ट्रिपर चालक सिन्धुपाल्चोकको मेलम्चीका २५ वर्षीय सागर माझीलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको जनाएको छ ।