काठमाडौं, फागुन २४ :

खानेपानीमन्त्री प्रदीप यादवले नेपाली नागरिकलाई सुरक्षित, सुलभ र गुणस्तरीय खानेपानी प्रदान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरको कार्यालय भवन उदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘स्वच्छ पानी, स्वस्थ जीवन भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै सरकारले दिगो विकास लक्ष्यअनुसार सुरक्षित खानेपानी तथा वैज्ञानिक ढल व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकतामा राखेको छ ।’

उनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरको नयाँ भवन निर्माणले यस क्षेत्रको खानेपानी तथा ढल व्यवस्थापन योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्त्वपूर्ण योगदान गर्ने मन्त्री यादवले विश्वास व्यक्त गरे । ‘आधुनिक संरचना, दक्ष जनशक्ति र प्रविधियुक्त सेवामार्फत नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता छ । विराटनगर तथा आसपासका नगरवासीलाई सुरक्षित, दिगो तथा आधुनिक खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य हामीले राखेका छौँ,’ उनले भने ।

मन्त्री यादवले जलवायु अनुकूलित खानेपानी योजना तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै ‘एक घर, एक धारा’ अभियानलाई तीव्रता दिने योजना सरकारको रहेको पनि जानकारी दिए । संघीय, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय सुदृढ गर्दै खानेपानी तथा ढल व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने सरकारको प्रमुख लक्ष्य रहेको उनले बताए ।

‘सहरी तथा ग्रामीण क्षेत्रमा वैज्ञानिक ढल प्रशोधन प्रणालीलाई प्रभावकारी बनाउने, दुर्गम क्षेत्रमा खानेपानी सेवा विस्तार गर्ने, स्थानीय तहसँग सहकार्य गर्दै खानेपानी तथा सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम अभिवृद्धि गर्ने र वित्तीय तथा प्राविधिक क्षमता सुदृढ गर्दै आगामी दिनमा थप आयोजनाहरू कार्यान्वयन गर्ने नीति सरकारले अवलम्बन गर्नेछ,’ उनले भने ।

मन्त्री यादवले मन्त्रालयबाट अनुमोदित योजनाहरूलाई तीव्र रूपमा कार्यान्वयन गरी प्रशासनिक तथा प्राविधिक पक्षको शीघ्र समीक्षा गर्दै प्रक्रिया सहज बनाइने उल्लेख गरे । साथै, सम्बन्धित निकायहरूसँग समन्वय गर्दै स्रोत स्वीकृत भएका आयोजनाहरूलाई प्रभावकारी रूपमा सम्पन्न गरिने उनको भनाइ छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर, मोरङको कार्यालय भवन उद्घाटनले समग्र क्षेत्रमा स्वच्छ खानेपानी तथा वैज्ञानिक ढल व्यवस्थापनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै उनले उक्त कार्यका लागि संलग्न सबै निकायलाई बधाई तथा धन्यवाद दिए ।