
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले रेक्टर र डिन कार्यालयमा भएको तोडफोडमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ ।
त्रिविले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै तोडफोडमा संलग्नलाई प्रचलित कानुनअनुसार अनुसन्धान गरी न्यायिक कठघरामा ल्याउन अनुरोध गरेको हो ।
‘कुनै माग वा समस्या भए वार्ता र संवादमार्फत समाधान गर्न विश्वविद्यालय सधैं तयार छ,’ त्रिविका सूचना अधिकारी शान्ताकुमारी नेउपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र पदाधिकारी, शिक्षक तथा कर्मचारीलाई आतंकित गर्ने कार्यलाई त्रिविले सहने छैन। कानुनी उपचारका लागि विश्वविद्यालय बाध्य हुनेछ।’
त्रिविमा पटकपटक विद्यार्थी समूहको नाममा तोडफोडजस्ता घटनाहरू भइरहे पनि दोषीहरू कानुनी दायरामा आउन नसकेको त्रिविका प्राध्यापकहरू बताउँछन् । उनीहरूका अनुसार, दोषीलाई उन्मुक्ति दिने प्रवृत्तिका कारण यस्ता घटनाहरू दोहोरिइरहेका छन् ।
