
नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ । एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो ।
ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको थियो । यस सहकार्यअन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्धन गर्दै नेपाली फुटबलप्रेमीको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ । साथै, यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । नेपाल र नेपाली उपभोक्ताहरूलाई एक आपसमा जोड्ने एनसेलको मूल दर्शन नेपाली फुटबलप्रतिको भावना र जोशसँग पनि मेल खाने निश्चित छ ।
सन् २०२१ मा स्थापना भएको एनएसएललाई एनएसईएमले अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ । थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ । यसले क्षेत्रीय पहिचान प्रवर्धन गर्दै एकता र गौरवको भावनालाई अझ बलियो बनाएको छ ।
नेपाल सुपर लिग (एनएसएल) को आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरु हुनेछ । यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरूबीच स्पर्धा हुनेछ ।
देशभरका फुटबल प्रेमीहरूका लागि यो उत्साहजनक र रोमाञ्चक क्षण हुनेछ जहाँ विभिन्न टिमहरू उपाधि जित्न प्रतिस्पर्धा गर्नेछन् । पत्रकारहरूसँग कुरा गर्दै नेपाल सुपर लिग (एनएसएल) का म्यानेजिङ डाइरेक्टर श्रेयांश कार्कीले भने, ‘हामी एनसेललाई एनएसएलको टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित छौँ । यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने छ र बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्नेछ ।’
त्यस्तै, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘हाम्रो एनएसएलसँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । हामी फुटबलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्नेमा विश्वास गर्छौं । एनएसएललाई समर्थन गरेर हामी नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्दै देशलाई गर्व गराउने अवसर दिन चाहन्छौँ ।’
एनसेलले अघिल्लो वर्षदेखि नै एनएसएलसँग निकट सहकार्य गर्दै आएको छ। यस साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवाहरूको क्षमता अभिवृद्धिमा एनसेलको निरन्तर योगदानलाई प्रतिबिम्बित गर्छ । यस लिगमार्फत एनसेलले फुटबल प्रतिभा प्रवद्र्धन गर्नुका साथै नेपालमा खेल पूर्वाधार सुधार गर्न प्रतिबद्धता दोहोर्याएको छ ।
यस संस्करणमा रोमाञ्चक प्रतिस्पर्धा, नयाँ प्रतिभाहरू र नेपाली फुटबलको वास्तविक स्वाद अनुभव गर्न पाइनेछ । एनसेलको निरन्तर समर्थन खेल विकास, युवा सशक्तीकरण र स्वस्थ जीवनशैली प्रवर्धनमा केन्द्रित छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत रही एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि सहयोग गर्दै आइरहेको छ ।