
साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा गिरावट आएको छ । नेप्से आज ४६ दशमलव ३३ अंकले घटेर २७ सय ७२ दशमलव १० अंकमा झरेको छ ।
यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ३१ अंकले घटेर चार सय ६३ दशमलव २९ अंकमा झरेको छ । नेप्सेमा आज ३१५ कम्पनीको एक लाख १२ हजार तीन सय ४७ पटकको कारोबारमा दुई करोड २७ लाख २६ हजार दुई सय ८३ कित्ता सेयर खरिद बिक्री भए । जसअनुसार कुल कारोबार रकम १० अर्ब नौ करोड ३६ लाख ५४ हजार एक सय २९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबै समूहको सूचक घटेर नेप्से पूरै रातो भएको छ । त्यसमध्ये वाणिज्य बैंक समूहको सूचक १९ दशमलव ३८ अंकले घटेर १३ सय ९८ दशमलव ५१ अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि एक सय एक दशमलव १७ अंकले घटेर पाँच हजार आठ सय १० दशमलव ४४ अंकमा झरेको छ ।
फाइनान्स समूहको सूचक पनि ५२ दशमलव १२ अंकले घटेर २७ सय ३० दशमलव ४७ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक पनि ६२ दशमलव ९७ अंकले घटेर तीन हजार सात सय २५ दशमलव ६६ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि दुई सय ४८ दशमलव ७० अंकले घटेर १३ हजार नौ सय ८९ दशमलव ७२ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय ६५ दशमलव ७२ अंकले घटेर १२ हजार नौ सय ३५ दशमलव ७३ अंकमा झरेको छ ।
यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ५६ दशमलव २३, दुई दशमलव ८४, ६९ दशमलव ९६, ८२ दशमलव ४९, शून्य दशमलव २०, ६७ दशमलव ६८ र ३४ दशमलव ९२ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने हिमालयन री-इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।