
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायब महानिरीक्षक, प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक र विशेष बढुवा भएका अधिकृतहरुलाई फागुन २५ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
नेपाल सरकार (गृह मन्त्रीस्तर) को मिति २०८१ फागुन २० गतेको निर्णयले कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा भएका हुन् ।
यसैगरी नेपाल सरकार (गृह मन्त्रालय सचिवस्तर) को फागुन १ गतेको निर्यणले प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङतर्फ प्राविधिक सशस्त्र प्रहरी निरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक वेदप्रकाश यादव पदोन्नति भएका थिए । अवकाशपूर्व सन्ज कुमार गोइत सशस्त्र प्रहरी नायब उपरीक्षक र प्रकाशसिंह ठकुरी सशस्त्र प्रहरी निरीक्षक पदमा विशेष बढुवा भएका थिए ।
महानिरीक्षक अर्यालले बढुवा भएका अधिकृतहरुलाई हार्दिक शुभकामना दिँदै बढुवासँगै थप भएको जिम्मेवारीहरुलाई कार्यक्षेत्रमा कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताए । उनले सरुवा तथा बढुवा संगठनको नीति नियमानुसार पारदर्शी भएको उल्लेख गर्दै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुले संगठनले के दिन्छ भन्दा पनि संगठनलाई के दिनसक्छु भन्ने भावना लिएर कार्यसम्पादन गर्नुपर्ने बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनीता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ, सिनियर तथा जुनियर अधिकृतहरु र विल्लादार जवानहरुको समेत उपस्थिति थियो ।