
काठमाडौँ, साउन ११: प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समग्र विकासको योजना कार्यान्वयन नमूनायोग्य बन्न सक्नुपर्ने बताउनुभएको छ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त पदाधिकारीको शपथ कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो।
नवनियुक्त पदाधिकारीमा हार्दिक बधाइ एवम् शुभकामना दिनुहुदै प्रधानमन्त्री ओलीले तपाईहरुको कार्यकाल देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बन्न सकोस्, नयाँ उचाइ हासिल हुन सकोस् भन्नुभयो ।
उहाँले मुलुकको मनोबल कमजोर भएको बेला १६ औं आवधिक योजनालाई समृद्ध नेपालका नीति तथा गन्तव्यसँग तालमेल गर्नुपर्ने बताउनुभयो।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुकको मनोबल कमजोर भएको बेला १६ औं आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्नेछ। उत्पादन वृद्धि र मानवीय एवम् भौतिक विकासलाई एकैसाथ अगाडि लानुपर्नेछ। तपाईंहरुले समन्वयात्मक रूपमा काम गर्नुहोला।”
उहाँले सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन पाउनु राम्रो रहेको उल्लेख गर्नुहुँदै आगामी दिनमा गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्ने बताउनुभयो।