काठमाडौँ, फागुन २८ :

सरकारले डा रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । 

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले तनहुँका काफ्लेलाई नियुक्त गरेको हो । 

सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये डा काफ्ले कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निजी सचिवालयले दिएको जानकारी अनुसार सिफारिस समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये  फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्तापश्चात अन्तिम सूचीमा डा काफ्लेसहित डा कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

मन्त्री पौडेलले गठन गरेको बिमा सुझाव कार्यदलमा डा काफ्ले सदस्य थिए । कार्यदलले स्वास्थ्य बिमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो । 

यसअघि डा काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ । बोर्डमा रहँदा डा काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी नयाँ कार्यक्रम सुरु गरेका थिए ।

राहत रकममा चार सय प्रतिशत वृद्धि तथा बिमामा शतप्रतिशत वृद्धि गर्ने निर्णय उनकै नेतृत्वमा भएको थियो । गम्भीर रोगका लागि श्रमिक बिमा कार्यक्रम पनि उनले नै आरम्भ गरेका थिए ।
 
डा काफ्ले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत थिए । यसैगरी उनी विभिन्न विकास रणनीति निर्माणमा संलग्न रहँदै आएका छन् । काफ्लेले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।