
विभिन्न मितिमा हराएका २० वटा दुईपांग्रे सवारीसाधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ६ ओटा मोटरसाइकल र १४ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको यूएनपार्क, एयरपोर्ट, नयाँबसपार्क, गुहेश्वरी, गौशाला, सुन्दरीजल, कालीमाटी, ठमेल, मालीगाउँ, चुनदेवी, जगाती, दीपज्योति, बौद्ध, गोकर्णेश्वर, नरेफाँट र नेपालटारलगायत स्थानबाट उक्त सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
आज बुझाइएका २० वटासहित ३३७ सवारीसाधन साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । यस्तै चोरीका ३६ वटा दुई पाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न ५३ जनालाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । आज बुझाईएका २० ओटा सवारी साधनहरु हराएको भनी विभिन्न मितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेका थिए ।
सवारीसाधन जिम्मा लिएपश्चात् सवारीधनीहरुले खुसी व्यक्त गर्दै सामूहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद दिएका थिए । आर्थिक वर्ष ०७९/८० मा ४९९ वटा र ०८०/८१ मा ४१७ वटा दुईपांग्रे सवारीसाधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।
सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी सर्वसाधारणमा अनुरोधसमेत गरेको छ । प्रहरी उपरीक्षक दीपक गिरीले सवारीसाधन हराए ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाए ।