
प्रतीकात्मक तस्बिर ।
इटहरीको राधाकृष्ण मन्दिरमा एक बालविवाह प्रयास गरिएको घटना सार्वजनिक भएको छ। विवाहका सबै तयारी पुरा भएपछि, बेहुला पक्ष जन्तीसहित मन्दिरमा उपस्थित भएका थिए। जब बेहुलीलाई बाहिर ल्याइयो, त्यसको उमेरलाई लिएर विवाद सुरु भयो। कतिपयले बेहुलीको उमेर नपुगेको आशंका व्यक्त गरेपछि नगर बाल सञ्जाल इटहरीले प्रहरीलाई सूचित गर्यो।
प्रहरी टोलीसँगै नगर बाल सञ्जालका प्रतिनिधि विवाह स्थलमा पुगे र मण्डपबाटै बेहुला-बेहुली, उनीहरूको बुवा र विवाह गराउने पण्डितलाई पक्राउ गर्यो। इटहरीको राधाकृष्ण मन्दिरमा भएको यो घटनामा २८ वर्षीय बेहुला उपेश नेपाल, १८ वर्षीया बेहुली, ४५ वर्षीय पण्डित दिनेश कुमार भट्टराई, बेहुलाका बुवा ढुण्डिराज नेपाल र बेहुलीका बुवा दिनेशकुमार दाहाल पक्राउ परेका छन् ।
नेपालको प्रचलित कानुन अनुसार केटीको विवाहको लागि २० वर्ष उमेर पुगेपछि मात्रै योग्य मानिन्छ, तर सोमबार विवाह गराइएको बेहुलीको उमेर १८ वर्ष मात्र भएको खुल्न आएको छ। बालविवाहको प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरिएका व्यक्तिहरूसँग अनुसन्धान अघि बढाइरहेको जनाएको छ। प्रहरीले बालविवाह कसुरमा म्याद थप गरी अनुसन्धानलाई जारी राखेको छ ।