काठमाडौं, फागुन २८ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले  फागुन २५ गते काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको भिडलाई 'ट्रायल' मात्र भएको बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै अन्य जिल्लाबाट पनि यस्तै भिड उठे भने, गणतन्त्रका नेताहरूलाई लुक्ने ठाउँसमेत नहुने चेतावनी दिइन्।

रोशन कार्कीले २५ गतेको भिडलाई वर्तमान सरकारको गल्तीको नतिजा भन्दै यसलाई नागरिकको अधिकारको रूपमा व्याख्या गरिन्। ‘नागरिकले आफ्ना कुरा राख्न पाउँछन्, यो भिड नालायक सरकारले उत्पन्न गरेको हो, उनले भनिन्, तपाईंहरू जति सरकारमा बस्नहुन्छ यो भिड अझै बढ्दै जान्छ।’

पूर्वराजाप्रति जनविश्वास बढ्दै गएको जनाउँदै उनले जिल्लामा जाँदा जयजयकार हुने गरेको र नेताहरु जाँदा मूर्दावादको नारा लाग्ने गरेको समेत बताइन् ।