
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले पूर्वराजाको नामले सदन तरंगित हुनु खुसीको कुरा भएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गैरजिम्मेवारपूर्ण कुराहरू राखेको भन्दै भविष्यमा जनताले सदनमा नपस्ने व्यवस्था गर्न सक्ने कुराको हेक्का राख्न चेतावनी दिए ।
अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न नसक्ने दाबी गर्दै उनले संविधानमा व्यवस्था परिवर्तन नहुने भन्ने कुरा नरहेको उल्लेख गरे ।
‘आज सदन राजाको नामले तरंगित छ, अति खुसीको कुरा हामी हर्षित छौँ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा फागुन ७ गत राजाबाट शुभकामना व्यक्त हुँदै आफ्नो अभिभावकीय भूमिका बिर्सिबक्सिएन,उनले भने, ‘आफ्नो बाटोबाट अन्यत्र लगिरहेको अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न सक्दैन, जनताको हित गर्न सक्दैन, त्यस कारण यो सन्दर्भमा सबै जना एकसाथ जुटौँ भन्ने सन्देशलाई सबै नेपालीले आत्मसात् गरे ।’
उनले राजसंस्थाको उपस्थिति नभएसम्म लम्पसार वादी व्यवहार जारी रहने र अरूको बुई चढेर आएको पार्टीले देशको हित गर्न नसक्ने बताए । संविधानमा व्यवस्था परिवर्तन नहुने भन्नेकुरा नरहेको उल्लेख गर्दै उनले अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न नसक्ने जिकिर गरे ।
