
बेनी- दरबाङ सडकको रणवाङ- तोलावाङ खण्डमा कालोपत्र भएको छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार मङ्गला गाउँपालिका- २ रणवाङको खहरेखोलादेखि रणवाङ- सहश्रधारा- दुखुखोला–तल्लोदुखु- रातोढुङ्गा हुँदै तोलावाङ खण्डको सडक कालोपत्र सकिएको हो ।
फराकिलो पार्ने, पानीको निकास, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा माघ १९ गतेदेखि सुरु गरिएको कालोपत्र गर्ने काम फागुन २७ गते सकिएको पौडेलले बताए । बाङ्गेपहिरो छाडेर बाँकी ढाडखर्क, दरबाङ बजारमा भइरहेको पूर्वाधार निर्माणको काम सकिएपछि कालोपत्र गर्ने तयारी छ ।
मङ्गला गाउँपालिका- २ रणवाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग २२ करोड ५७ लाख ९३२ मा सम्झौता भएको हो ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर यो सडक २०६३ सालमा खुलेको हो । यसअघि बेनी- सिमसम्म १२ दशमलव पाँच किलोमिटर खण्ड भने कालोपत्र भइसकेको छ । सिम- पानाबगर खण्डको चार किलोमिटरको काम पनि पूरा भएको छ ।