
सेयर बजारमा करेक्सन देखिएको छ । साताको सुरुवाती कारोबार दिनदेखि लगातार घटेको नेप्से साताको चौथो कारोबार दिन आज (बुधबार) भने १७ दशमलव २८ अंकले बढेर २७ सय ३६ दशमलव ४८ अंकमा चढेको छ ।
यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५५ अंकले बढेर ४५९ दशमलव शून्य तीन अंकमा चढेको छ । नेप्सेमा आज ३२३ कम्पनीको ७९ हजार दुई सय ३६ पटकको कारोबारमा दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता सेयर खरिद-बिक्री भए । जसअनुसार कुल कारोबार रकम आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार सात सय ५५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा विकास बैंक समूहको सूचक १९ दशमलव ४८ अंकले घटेर पाँच हजार आठ सय ५९ दशमलव ८२ अंकमा झरेको छ । लघुवित्त समूहको सूचक १४ दशमलव शून्य आठ अंकले घटेर पाँच हजार २८ दशमलव ९१ अंकमा झरेको छ ।
यीबाहेक बाँकी समूहको सूचक भने आज बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ३५ अंकले बढेर १३ सय ८९ दशमलव ९७ अंकमा चढेको छ । फाइनान्स समूहको सूचक ४२ दशमलव ४४ अंकले बढेर ६ हजार ६ सय ११ दशमलव ५८ अंकमा चढेको छ ।
जलविद्युत् समूहको सूचक ३१ दशमलव १६ अंकले बढेर तीन हजार ६ सय ५७ दशमलव ५८ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक ८९ दशमलव ३२ अंकले बढेर १३ हजार आठ सय ३८ दशमलव २७ अंकमा पुगेको छ ।
यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि ५१ दशमलव ६१ अंकले बढेर १२ हजार सात सय ७१ दशमलव ६९ अंकमा चढेकामा होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ४२ दशमलव ४४, एक दशमलव ९०, १३ दशमलव ५१, शून्य दशमलव शून्य दुई, ३७ दशमलव ९१ र आठ दशमलव ८५ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा पिपुल्स हाइड्रोपावर लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा भने माछापुच्छ्रे बैंकको संस्थापक सेयर परेको छ ।