
ललितपुर महानगरपालिका र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम भएको छ ।
रसियाको उलान उदे सहरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले भगिनी सम्बन्धसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
प्रमुख महर्जनले भगिनीसम्बन्ध कायमसँगै दुवै देशका नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउने दाबी गरे । उलान उदे रसियाको पुरानो सहर हो । विकासशील यो सहरको विशेषता ललितपुर महानगरसँग मिल्दाजुल्दा छन्, दुई सहरबीचको यो सम्बन्धले धेरै कुराको सम्भावना खोलेको र एकअर्काको आवश्यकता र समझदारीअनुसार नागरिकस्तरमा सम्बन्ध कायम गरी असल अभ्यास आदानप्रदान गर्ने उनले बताए ।
प्रमुख महर्जनले ललितपुर महानगर कला, संस्कृति र सम्पदाको सहर भएको बताए । उनले उलान उदे सहरमा ललितपुरको संस्कृति र सम्पदा झल्काउने काम गर्न इच्छुक भएको उल्लेख पनि गरे । दुई देशका सहरबीचको आपसीसम्बन्ध र भेटघाटलाई बाक्लो बनाउने बताउँदै संयुक्त रूपमा परियोजना सञ्चालन गर्ने जानकारी दिए ।
उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले यो भगिनीसम्बन्धले नेपाल र रूसबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताए । उनले दुई देशको विकासका लागि के गर्न सकिन्छ यस सम्बन्धमा थप गृहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
समझदारी पत्रमा सडक निर्माण तथा स्तरोन्नति, महानगरको सार्वजनिक सवारी साधान व्यवस्थित, पर्यटन, शिक्षा र स्वास्थ्य, ऐतिहासिक सम्पदा संंरक्षण, ग्यालरी र म्युजियम स्थापनाका, सूचना प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान विषयमा सहकार्य गर्ने उल्लेख छ ।
महानगर प्रमुखको प्रतिनिधिमण्डल गत शनिबार रसिया गएको हो ।
