हेटौँडा, फागुन ३० :

बागमती प्रदेश सरकारले किसानलाई ब्याज अनुदानमा ऋण उपलब्ध गराउने भएको छ । 

चालु आर्थिक वर्षमा एक अर्ब र आगामी आर्थिक वर्षमा १६ अर्ब ऋण लगानी गर्ने तयारी रहेको बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले आधुनिक कृषि र व्यावसायिक पशुपालनका लागि ब्याज अनुदानमा ऋण उपलब्ध गराउने भएको हो । मन्त्री श्रेष्ठले प्रदेशमा तीन लाख ३१ हजार किसान रहेको र उनीहरुलाई पर्याप्त मात्रामा अनुदान उपलब्ध गराउन नसकेकाले ब्याज अनुदानमा ऋण उपलब्ध गराउने तयारी गरिरहेको बताए । 

उनले किसानलाई ऋण उपलब्ध गराउँदा स्थानीय तहसँग समन्वय गरिने बताए । उनका अनुसार किसान परिचयपत्र, वर्गीकरण र उत्पादनको आधारमा प्रदेश सरकारले नीति बनाएर विभिन्न प्रोत्साहन कार्यक्रमका साथै प्रदेशमा ‘स्मार्ट फार्म’ निर्माण गरिनेछ ।

श्रम र उत्पादनलाई जोडेर कोष स्थापना गरी योगदानका आधारमा किसानलाई पेन्सनको व्यवस्था गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाका कार्यालय प्रमुख डा जनार्दन खड्काले माटो परीक्षणका क्रममा ५० प्रतिशत प्राङ्गारिक पदार्थको कमी, वर्षाको पानी, माटो चट्टान बन्ने प्रक्रिया र मानवीय क्रियाकलापका कारण माटोमा अम्लीयपन बढ्दै गएको जानकारी दिए । 

काठमाडौँ उपत्यकासहित व्यावसायिक तरकारीखेती हुने जिल्ला काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको मात्रा बढी पाइएको उनले बताए । 

प्रदेशमा तीन लाख २८ हजार दुई सय ९७ हेक्टर अर्थात् १६ दशमलव १७ प्रतिशत जमिन खेतीयोग्य छ । जसमध्ये दुई लाख ८९ हजार ६६२ हेक्टरमा खेती गरिएको छ ।