
काठमाडौं महानगरपालिकाले महानगरपालिकामा सूचीकृत ३९१ भवन डिजाइनरमध्ये ४२ जनालाई पहिलो चरणको तालिम दिएको छ ।
महानगरपालिकाले बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बिन) सँगको सहकार्यमा तीन दिने तालिम सञ्चालन गरेको हो । ४२ सहभागी तालिममा हावापानी अनुकूलन शैली र सामग्री, तापीय सुविधासहितको भवन डिजाइन, तापको संवाहन, झ्याल ढोका तथा भेन्टिलेसनमा प्रयोग गरिने सिसाको ताप र प्रकाशसँग सम्बन्धजस्ता पक्षको ज्ञान, विज्ञान र उपयोग विषय समावेश गरिएको थियो ।
यस्तै ऊर्जा प्रभावकारी भवन निर्माण गर्दा प्रयोग हुने निर्माण सामग्री, यस्ता भवन निर्माणसम्बन्धी मापदण्ड, भवन बनाउँदा बैंकहरुबाट प्राप्त हुने सहुलियत ऋणलगायत विषयमा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो । सिद्धान्तमा उल्लेख भएका यी विषयको व्यवहारिक प्रयोगलाई अभ्यास गरिएको थियो ।
तालिममा समापन अवसरमा महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले आफ्नो बाल्यकाल स्मरण गर्दै बिहान सडकमा हिँड्दा त्यसबेला देखिने बाक्लो शीत अहिले देखिन छोडेको दृष्टान्तलाई जलवायु (मौसम) परिवर्तनको महसुस भइरहेको उदाहरण दिए । ‘यसकारण पहिले जे विषयलाई ध्यानमा राखेर भवन बनाइन्थ्यो । अहिले त्यही अवस्थालाई पछ्याउनुभन्दा आज जस्तो मौसम छ, त्यसैको अनुकूलन हुने गरी भवन डिजाइन गर्नुपर्छ,’ उनले भने, ‘यो प्राविधिक कुरा हो । तर, शैली र सामग्री भने आफ्नै हुनुपर्छ ।’
‘भूगोल, अवस्थिति र परिस्थितिअनुसार विश्वका विभिन्न ठाउँमा आफ्नै शैलीका भवन बनेको हुन्छन् । हेर्दा आकर्षक लाग्यो भन्दैमा सबै ठाउँमा त्यस्तै संरचना बनाउन सकिँदैन । त्यो आर्थिक सामाजिक अवस्था अनुकुल हुँदैन,’ बिनका परियोजना प्रबन्धक डा. डेनियल नेयरले भने, ‘ज्ञान सबैतिरको लिनु । प्राविधिक पक्ष सबैतिरको बुझ्नु । तर, डिजाइन आफ्नै अनुकुलको गर्नु । यसले मात्र भवन आरामदायी हुन्छ ।’
उर्जा प्रभावकारी भवन निर्माण गर्न क्षमता विकास
समापन अवसरमा सहरी व्यवस्थापन महाशाखा प्रमुख इन्जिनियर जीवन रेग्मी, सहायक निर्देशक ईश्वरी लौडारी, बिनका टिम लिडर सुयेश प्रजापतीले, मानव बसोबास अनुकूल सहरी वातावरण सिर्जना गर्न इन्जिनियरहरुबाट महत्त्वपूर्ण योगदान हुन सक्ने बताउँदै, तालिममा सिकेको सीप व्यवहारिक प्रयोगमा ल्याउन आग्रह गरे । प्राकृतिक वस्तु तथा पदार्थसँगको सामीप्यताले प्रदूषण र कार्बन उत्सर्जनमा सहरी क्षेत्रबाट परेको असर घटाउन योगदान पुग्ने उनीहरुको भनाइ थियो ।
‘सिद्धान्तमा सिकेको कुरा, यस्तो हुन्छ थाहा थियो । गर्नुपर्छ पनि जानेकै थियो । तर, व्यवहारिक प्रयोग गर्न पाइएको थिएन । सकिएको थिएन । तालिमले सिद्धान्तलाई व्यवहारमा रुपान्तरण गर्न सिकायो,’ तालिमका सहभागी सुशीलचन्द्र रेग्मी र आष्मा श्रेष्ठले उपलब्धि सुनाए ।
मानिसको सरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेड हुन्छ । यसका लागि आरामदायी तापक्रम भनेको २० देखि २६ डिग्री सेन्टिग्रेडसम्मको हो । कार्यस्थलबाट राम्रो उत्पादकत्व प्राप्त गर्न २१ देखि २६ डिग्री सेन्टिग्रेडसम्मको तापक्रम चाहिन्छ । यो अवस्थालाई ध्यान दिन सकिएन र भवनमा तापीय असुविधा भयो भने मानिसहरु छिटो बिरामी हुने, चिन्ता बढ्ने, काममा ध्यान नजाने, निद्रामा समस्या आउनेजस्ता स्वास्थ्य समस्या हुन सक्छन् । यसकारण मानिस बस्ने घरलाई प्राकृतिक ऊर्जाको प्रयोगबाट कसरी आरामदायी बनाउन सकिन्छ ज्ञान र सिपको प्रवर्धन गर्नु तालिमको मुख्य उद्देश्य हो ।
