काठमाडौं, फागुन ३० :

लागुऔषधसहित प्रहरीले काठमाडौं ९, पिंगलास्थानबाट तीन जनालाई पक्राउ गरेको छ ।

पिंगलास्थान चोकनजिक शिवदर्शन होटेलबाट ९९६ ग्राम गाँजा, नियन्त्रित लागुऔषध ट्रामोल १० ट्याब्लेट, नगद ३५ हजार ४५० रुपैयाँ र मोबाइल २ थानसहित ३ जनालाई बिहीबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी घर भएका २१ वर्षीय सुरज राई, काठमाडौं एयरपोर्ट बस्ने सिन्धुपाल्चोक घर भएका २१ वर्षीय विशाल थापा र कास्की घर भएका १६ वर्षीय किशोर रहेका छन् ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले होटेल तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । तीनै जनामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।