
धनगढीमा यही चैत ७ गते आयोजना गर्न लागिएको ‘छैटौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’को दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरेको हो । सुदूरपश्चिम आइकन पुरूष विधातर्फ कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी मनोनयनमा परेको छनोट समितिका संयोजक सीताराम ओझाले जानकारी दिए ।
जोशी बंगलादेशमा भएको चौथो बंगबन्धु पुरूष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बन्दा टोलीका सदस्य थिए । उनी एसियाली खेलकुदअन्तर्गत मिसन २०२६ का लागि बन्द प्रशिक्षणमा छन् ।
पौडीका सिंह वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका थिए । सन् २०१३ को दक्षिण एसियाली खेलकुद सागमा बनेको कीर्तिमान उनले भङ्ग गरेको आयोजक खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
पौडीतर्फ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई पदक जिताउने सिंह एक्ला खेलाडी हुन् । उनले वर्ष २०८१ मा दुई स्वर्ण, दुई रजत र तीन कास्य गरी सात पदक जितेका थिए । क्रिकेटका धामी यू-१९ एसिया कपमा अफगानिस्थानमाथि जित दर्ता गराउन उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टिमका कप्तान हुन् । सिनियर टोलीबाट क्यानडाविरूद्ध डेब्यु खेलमा उनले तीन विकेट लिएका थिए ।
सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनीषा बोहोरा, कबड्डीकी मनीषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् । बोहोरा भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई स्वर्ण पदक जिताउने खेलाडी हुन् । उनी ५६औँ राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जित्ने सुदूरपश्चिम प्रदेशको एकमात्र खेलाडी हुन् ।
कबड्डीकी जोशी इरानमा भएको छैटौँ एसियन महिला कबड्डी च्याम्पियनसिपमा नेपालले कास्य पदक जित्ने टोलीकी सदस्य हुन् । उनी एसियाली खेलकुदअन्तर्गत मिसन २०२६ का लागि बन्द प्रशिक्षणमा पर्न सफल भएकी छिन् । क्रिकेटकै सावित्री धामी १९ वर्षमुनिको सुशील कोइराला मेमोरियल क्रिकेटमा उत्कृष्ट खेलाडी भएकी थिइन् । उनी मैयादेवी महिला क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यान भएकी थिइन् ।
खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले दुवै विधाका विजेता खेलाडीलाई जनही २० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने बताए । छैटौँ संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गर्न लागिएको छ ।
सुदूरपश्चिम आइकन महिला तथा पुरुषसँगै उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड विधामा अवार्ड प्रदान गर्न लागिएको छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई जनही ३५ हजार रुपैयाँ, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार रुपैयाँ, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई जनही २५ हजार रुपैयाँबाट पुरस्कृत गर्न लागिएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको स्पोट्स अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) धनगढीले गरेको छ ।